काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर, एक्यूआई १८९ पुग्यो

147 Shares

काठमाडौं । काठमाडौं अहिले विश्वकै प्रदूषित शहरहरूको सूचीमा तेस्रो स्थानमा पुगेको छ।

वायु गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार सोमबार बिहान साढे ७ बजेको समयमा काठमाडौंको एक्यूआई १८९ पुगेको छ। पाकिस्तानको लाहोर ३०६ एक्यूआईसहित विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा रहेको छ भने भारतको दिल्ली २०२ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ५० भन्दा कम हुनु उपयुक्त मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआई सामान्य मानिन्छ भने १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ। १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगे खतरनाक तहको प्रदूषण मानिन्छ।

प्रदूषित हावाका कारण दम, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुरोग तथा क्यान्सरजस्ता रोगको जोखिम बढ्ने चिकित्सकहरूले बताउँछन्। काठमाडौं उपत्यकामा आइतबारदेखि वायु प्रदूषण बढ्दै गएको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा प्रदूषण पनि बढ्दै गएको हो।

वायु प्रदूषण नियन्त्रणका लागि पूर्वतयारी अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ। यसका लागि घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको अवस्था जाँच तथा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा विभागले जोड दिएको छ।