निर्वाचनका दिन देशभर मौसम सफा रहने, मतदानमा असर नपर्ने

170 Shares

काठमाडौँ । प्रतिनिधि सभाको सदस्य चयनका लागि बिहीबार हुने मतदानका दिन देशभरको मौसम मुख्यतया सफा रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखा ले चुनावको समयमा मौसमको प्रभावले मतदान प्रक्रियामा कुनै असर नपर्ने जनाएको छ । त्यस्तै, निर्वाचन आयोग नेपाल ले शनिबारसम्म सबै ठाउँको मतपेटिका संकलन भइसक्ने भएकाले मतदान तथा मतपेटिका संकलनमा मौसमले कुनै अवरोध नपुर्‍याउने स्पष्ट पारेको छ ।

हाल नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ भने बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा बिहान हुस्सु लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तर बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, बिहीबार राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।