शनिवारसम्म देशभर मौसम सामान्यतया सफा रहने

207 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शनिवारसम्म देशभर मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल का अनुसार मंगलवार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना छैन। कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभा तथा गण्डकी प्रदेशको कास्की जिल्लाका केही स्थानमा मात्र छिटपुट वर्षा हुनसक्ने भए पनि अन्य भूभागमा वर्षा हुने अवस्था छैन।

भोलि बुधवार मौसम केही खुल्ने अनुमान गरिएको छ। दिउँसो तापक्रम बढ्ने र बेलुका पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने सम्भावना भए पनि यस साताभरि वर्षा वा हिमपातको सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभयो।

पौडेलले भन्नुभयो, “शनिवारसम्म मौसम सामान्यतः सफा नै रहनेछ। पहाडी भूभागमा केही बादल लागे पनि वर्षा भएको छैन। ताप्लेजुङ, संखुवासभा, कास्की जस्ता केही स्थानमा मात्र छिटपुट वर्षा हुनसक्छ। भोलि पनि केही पहाडी क्षेत्रमा बादल लाग्ने देखिन्छ, तर यसबाट मतदाता वा नागरिकले डराउनु पर्ने अवस्था छैन। यस हप्ताभर देशभर मौसम सामान्यतया सफा रहनेछ।”

उहाँले आगामी दिनका हल्का बदली र छिटपुट वर्षाले मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत उल्लेख गर्नुभयो।