जेनेभामा इरान–अमेरिका अप्रत्यक्ष आणविक वार्ता: तेस्रो चरणमा ‘राम्रो प्रगति’

174 Shares

एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा अमेरिकासँग भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ।

राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा मन्त्री अराघचीले तेहरान र वाशिंगटनबीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै चाँडै चौथो चरणको वार्ता हुने जानकारी दिनुभयो। उहाँका अनुसार यही फागुन १८ गते सोमबार भियनामा प्राविधिक तहको वार्ता आयोजना गरिनेछ।

वार्तालाई मुख्य रूपमा सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गर्नुभएको थियो। साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले केही क्षेत्रमा प्राविधिक योगदान दिनुभएको र त्यसलाई फाइदाजनक ठानिएको बताइएको छ।

यो पछिल्लो चरणको वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव तथा पश्चिम एसियामा अमेरिकी सैन्य उपस्थिति बढिरहेको सन्दर्भमा भएको हो। यसअघि पहिलो र दोस्रो चरणका वार्ता मस्कट र जेनेभामा सम्पन्न भएका थिए।

हालको प्रगतिले सम्भावित आणविक सम्झौताप्रति आशा जगाएको भए पनि अझै महत्वपूर्ण चुनौतीहरू बाँकी रहेको विश्लेषण गरिएको छ।