काठमाडौं । नेकपा एमालेको झन्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा संलग्नताको पहिचान भएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराका अनुसार यस घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी जारी छ।
समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने यस्ता गतिविधि नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया