शिवरात्रीपछि पशुपति परिसरमा युवक मृत भेटिए, घटनामा शंका

179 Shares

काठमाडौं । शिवरात्रीको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धान प्रहरी वृत्त गौशाला ले अघि बढाएको थियो। मृतकको शरीरमा निलडाम र चोटपटक देखिएपछि घटनालाई शंकास्पद मान्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोली पनि अनुसन्धानमा खटिएको छ।

अनुसन्धानका क्रममा मृतक संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको छ। कार्यालयका एसएसपी सन्तोष खड्का ले मृतकको शरीरमा चोटपटक देखिएकाले घटना शंकास्पद देखिएको र विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। प्रहरीले मृतक पशुपति क्षेत्रमा बस्ने र मागेर खाने गरेको जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। पोस्टमार्टम रिपोर्टपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान क्रममा एक ‘बाबा’ भनिने व्यक्ति घटनासँग जोडिएको आशंका गरिएको छ। शिवरात्रीका बेला पशुपति आएका ती व्यक्तिको मोबाइल हराएको र उक्त मोबाइल मृत फेला परेका युवकले चोरेको आरोप लगाइएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार मोबाइल प्रकरणपछि ती व्यक्तिले मृतकलाई नियन्त्रणमा लिएको र घटनामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। सम्बन्धित व्यक्ति फरार रहेको र पहिचान भइसकेको भए पनि पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन भने अनुसन्धान जारी रहेको बताइएको छ।