महाशिवरात्रिपछि पशुपतिनाथ आएका साधुसन्तलाई दक्षिणासहित बिदाई

188 Shares

काठमाडौं। महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोष ले आज साधुसन्तलाई दक्षिणासहित बिदाई गरेका हुन्। साधुसन्त नेपाल प्रवेश गरेदेखि खाने, बस्ने तथा धुनीको व्यवस्थापन संस्थान र कोषले गर्दै आएका छन्।

गुठी संस्थान र कोषले साधुसन्तको वर्गीकरण गरी दक्षिणा वितरण गर्ने परम्परा रहँदै आएको छ। नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबालाई वर्गीकरण गरेर दक्षिणा दिने प्रचलन रहेको छ।

गुठी संस्थानको पशुपति शाखा कार्यालयकी प्रमुख सुशीला शर्मा ले साधुसन्तका मुखियाले दिएको विवरणका आधारमा वर्गीकरण गरी दक्षिणा वितरण गरिएको जानकारी दिनुभयो। साधुसन्त बिदाईका लागि गुठी संस्थानले छुट्याएको बजेटमा कोषले थप रकम समेत व्यवस्था गरेको जनाइएको छ।

भारत र नेपालका विभिन्न स्थानबाट नागा बाबासहित सयौं साधुसन्त महाशिवरात्रि अवसरमा पशुपतिनाथ आएका थिए। बिदाईसँगै उनीहरू आ–आफ्ना अखडातर्फ फर्किएका छन्।