निर्वाचन घोषणापत्र फागुन ३ भित्र बुझाउन आयोगको निर्देशन

168 Shares

काठमाडौं — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम घोषणापत्र सार्वजनिक गरी त्यसको एक प्रति निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ। आयोगको माघ २७ गतेको निर्णय अनुसार शाखा अधिकृत (कानुन) अरुण अधिकारीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई यस सम्बन्धमा पत्राचार गरेका हुन्।

आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई प्राप्त घोषणापत्रको अभिलेख व्यवस्थित रूपमा राखी त्यसको विवरण आयोगमा पठाउन निर्देशन दिएको छ। साथै, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक जानकारी गराउन पनि आयोगले आग्रह गरेको छ।

यसअघि नै आयोगले सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरिसकेको छ। आयोगका अनुसार निर्वाचन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र मतदातामुखी बनाउन घोषणापत्र सार्वजनिक गर्नु आवश्यक मानिएको हो।

घोषणापत्रमार्फत उम्मेदवार तथा राजनीतिक दलहरूले आफ्ना नीति, योजना र प्रतिबद्धता मतदातासमक्ष स्पष्ट रूपमा राख्नुपर्ने भएकाले यसलाई निर्वाचन प्रक्रियाको महत्वपूर्ण अङ्ग मानिन्छ। आयोगले तोकिएको समयसीमाभित्र घोषणापत्र सार्वजनिक तथा पेस नगरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुनसक्ने संकेत पनि दिएको छ।