काठमाडौं-४ का अधुरा योजना पूरा गर्ने डा. भट्टराईको संकल्प

63 Shares

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले आगामी निर्वाचनमा सुशासनलाई पहिलो एजेन्डा बनाउने घोषणा गरेका छन् ।

उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी बजेट कार्यान्वयन र जवाफदेहिता सुनिश्चित नगरी विकास सम्भव नहुने बताएका छन् । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले काठमाडौँ ४ को विकास राजनीतिक अस्थिरता र अवरोधका कारण प्रभावित भएको आरोप लगाए । ‘सुशासन बिना विकास सम्भव छैन । काम सुरु हुन्छ तर पूरा हुँदैन, यसको मूल कारण राजनीतिक अस्थिरता र अवरोध हो,’ उनले भने ।

डा. भट्टराईले सडक, ढल, खानेपानी तथा सहरी व्यवस्थापनका अधुरा योजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा सुरु गरिएका आयोजनाले निरन्तरता नपाउँदा क्षेत्र पछि परेको दाबी गरे । विपक्षीलाई लक्षित गर्दै उनले विकासभन्दा अवरोध र आलोचनामै सीमित राजनीति नगर्न आग्रह गरे । ;जनताले नारा होइन, परिणाम चाहेका छन्,’ उनले भने ।

उनले युवा रोजगारी, उद्यम प्रवर्द्धन तथा व्यवस्थित सहरीकरणका लागि दीर्घकालीन योजना ल्याइने उल्लेख गर्दै आगामी निर्वाचनलाई विकास र स्थायित्व रोज्ने अवसरका रूपमा प्रस्तुत गरे । डा. भट्टराईको यो तेस्रो पटकको उम्मेदवारी हो । यसअघि २०७४ र २०७९ को आम निर्वाचनमा उन नेपाली कांग्रेसका गगन कुमार थापासँग पराजित भएका थिए । अहिले उन नेपाली कांग्रेसका सचिन तिमिल्सेना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायतसँग चुनावी प्रतिस्पर्धामा छन् ।