सुनकोशी–मरिणको ठेक्का रद्दबारे सात दिनभित्र कागजात बुझाउन निर्देशन

51 Shares

संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले आवश्यक कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने जानकारी दिए । सभापति खड्काले राष्ट्रिय गौरवका आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र नभई सिंगो देशमा पर्ने बताए ।

विशेषगरी मधेशलाई अन्नको भण्डारका रूपमा उल्लेख गर्दै सुनकोशी–मरिण आयोजना ढिलाइ हुँदा राष्ट्रिय स्तरमै क्षति पुग्ने उनको भनाइ छ । उनले ठेक्का वा बोलपत्र रद्द हुँदा हुने आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

आयोजना रद्द वा ढिलाइ हुँदा त्यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर तथा देशले बेहोर्नुपर्ने समग्र क्षतिको समेत समीक्षा गर्नुपर्ने उनले बताए । सभापति खड्काले सार्वजनिक लेखा समितिमा यस विषयमा व्यापक छलफल गरी निष्कर्षमा पुगिने उल्लेख गर्दै आयोजनासँग सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।