रामेछापमा बस दुर्घटना : मृतक संख्या १२ पुग्यो(नामावलीसहित)

42 Shares

काठमाडाैं । रामेछापको मन्थली नजिक तामाकोशी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । तीमध्ये ९ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको छ ।

मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ रहेका छन् । यस्तै लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र ४५ वर्षीया मानकुमारी बरुवालको पनि मृत्यु भएको छ ।

त्यसैगरी सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ पनि मृतकमा रहेको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभयो । अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको छ ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ भने बसमा सवार अन्य यात्रुको खोजी कार्य जारी रहेको छ ।

काठमाडाैंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।tamakoshi-bus-accident-.webp