गोरखा भर्ती प्रक्रिया अस्थायी मात्रै, नेपाल निर्णय गरेपछि पुनः सुरु हुने - भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंह

42 Shares

काठमाडौं । भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले गोरखा भर्ती प्रक्रिया स्थायी रूपमा रोकिएको नभई अस्थायी भएको स्पष्ट पारेका छन्। उनले भने, नेपालले आवश्यक निर्णय लिएसँगै यो प्रक्रिया पुनः सुचारु हुने छ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सिंहले नेपाल–भारत सम्बन्धलाई शताब्दीयौंको साझा इतिहास, संस्कृति र रणनीतिक सहकार्यको परिप्रेक्ष्यमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। उनले गोरखा सैनिकसँग सम्बन्धित हालका असमझदारीहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।

सिंहले अग्निवीर योजनासँग सम्बन्धित अन्योलबारे प्रष्ट पार्दै यसलाई युवाहरूका लागि अवसरको रूपमा व्याख्या गरे। उनका अनुसार, “गोरखाहरू दुई शताब्दीदेखि भारतीय सशस्त्र बलको अभिन्न अंग रहँदै आएका छन्। स्वतन्त्रता पछिसमेत उनीहरूको भर्तीका लागि सधैं खुला व्यवस्था थियो। अग्निवीर योजनालाई ऐतिहासिक सन्दर्भमा बुझ्नुपर्छ। छोटो अवधिको सैन्य सेवा युवालाई तालिम, अनुशासन, शिक्षा र अवसर प्रदान गरी सक्षम नागरिक बनाउने उद्देश्यको लागि हो।”

सिंहले सन् १९७५ अघि भारतीय सेनामा ‘कलर सर्भिस’ सात वर्षको हुने र पेन्सन नहुने व्यवस्था रहेको बताए। अहिले पनि छोटो कार्यकाल, उच्च तीव्रतालिका तालिम, युवा उर्जा र अनुशासन विकास, चरित्र निर्माण र फराकिलो दृष्टिकोण प्रदान गर्ने उद्देश्य कायम रहेको उनले उल्लेख गरे।

नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि भारतसँगको कनेक्टिभिटीका कारण व्यवहारिक रूपमा ‘समुन्द्री पहुँच भएको राष्ट्र’ जस्तो रहेको सिंहको भनाइ छ। भारतबाट आउने करिब ६० प्रतिशत इन्धन समुद्री मार्गबाट आपूर्ति हुने भएकाले समुद्री सुरक्षा नेपालको लागि प्रत्यक्ष प्रभाव पार्ने उल्लेख उनले गरे।

सिंहले ‘सागरमाला’ परियोजनाले बन्दरगाह कनेक्टिभिटी सुधार गरी नेपालका लागि आयात–निर्यात समय घटाएको र व्यापारमा सहजता आएको दाबी गरे। यसले नेपाल–भारत आर्थिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा राखिएको छ।

उनले समग्रमा नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सुरक्षा सम्बन्धका दृष्टिले गहिरो रहेको भन्दै दुई देशबीच संवाद, विश्वास र सहकार्य कायम राख्नुपर्नेमा जोड दिए। गोरखा भर्ती, कनेक्टिभिटी र सुरक्षा सहकार्यमा देखिएका असमझदारीहरू संवादमार्फत समाधान हुने विश्वास उनले व्यक्त गरे।