दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभावको आशंका : खानेतेल र ग्यास बजारमा तीव्र अनुगमन, दोषीमाथि कडा कारबाहीको चेतावनी

177 Shares

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव देखिएको आशंका बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। उपभोक्ताले आवश्यक वस्तु सहज रूपमा नपाइरहेको गुनासो बढ्दै गएपछि विभाग सक्रिय रूपमा बजार अनुगमनमा जुटेको हो।

विभागका अनुसार उपभोक्तालाई दैनिक आवश्यक वस्तु सहज र नियमित रूपमा उपलब्ध गराउने उद्देश्यले उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म–प्रतिष्ठानहरूमा निरन्तर संयुक्त अनुगमन सञ्चालन भइरहेको छ। यस अभियानमा सम्बन्धित अन्य सरकारी निकाय तथा सरोकारवाला संस्थाहरूको समेत सहकार्य लिइएको विभागले जनाएको छ।

विशेषगरी पछिल्ला दिनमा खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई अनावश्यक दुःख दिने प्रवृत्ति बढेकोप्रति विभागले चिन्ता व्यक्त गरेको छ। कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई ठगी गर्ने खालका गतिविधि भएको पाइए कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ।

विभागले प्रचलित कानुनविपरीत कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै बजारमा अस्वाभाविक अवस्था सिर्जना गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याइने जनाएको छ। अनुगमनका क्रममा आवश्यक परे जरिवाना, कारबाही तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति पर्याप्त रहेको दाबी गर्दै आएको छ। निगमका अनुसार ग्यास आपूर्तिमा कुनै समस्या नभएको र वितरण प्रणाली नियमित रहेको जनाएको छ। तर उपभोक्ताहरूले भने सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन्, जसले बजारमा कृत्रिम अभावको आशंका बढाएको छ।

उपभोक्ताको बढ्दो गुनासो तथा बजारको अवस्थालाई मध्यनजर गर्दै विभागले आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ। साथै उपभोक्तालाई कुनै समस्या परे विभाग वा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।