तामाकोशी नदीमा बस खस्दा मृतक संख्या १२ पुग्यो, खोज तथा उद्धार कार्य जारी

176 Shares

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस रामेछापमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको उक्त बस रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी घाट नजिक तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए भने उपचार तथा उद्धारका क्रममा मृतक संख्या १२ पुगेको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार हालसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।

घटनास्थलमा सशस्त्र प्रहरी बलको रामेछाप गुल्म तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालित गरिएको छ। उद्धार टोलीले बससँगै तामाकोशी नदीमा डुबेका यात्रुहरूको खोजी गरिरहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।