झापामा सवारी दुर्घटनाक्रम बढ्दा २५ दिनमा १८ जनाको मृत्यु

185 Shares

काठमाडौँ । झापामा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढेको देखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, माघ १ देखि माघ २५ गतेसम्म विभिन्न स्थानमा भएका दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्।

अर्जुनधारामा ट्याक्टर दुर्घटना

आइतबार अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा ट्याक्टर दुर्घटना भएको थियो। बिरिङ खोलाबाट बालुवा लोड गरेर अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नम्बरको ट्याक्टरको डालामा सवार हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

स्कुटी ठक्करमा मृत्यु

त्यसै दिन, तीन दिनअघि भएको स्कुटी दुर्घटनामा घाइते अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारको क्रममा आइतबार नै मृत्यु भएको छ। बाँस्कोटाको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको थियो।

प्रहरीका अनुसार, माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोक स्थित बिर्तामोड–खुदुनाबारी सडक खण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो। स्कुटी चालक इलाम माई नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन्।

दमक र अन्य घटनाहरू

त्यसै दिन, माघ २१ गते दमकमा टिपर ठक्करबाट दुई जनाको मृत्यु भएको थियो।
माघ १ गते मात्रै एकैदिन तीन जनाको ज्यान गएको रिपोर्ट छ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार, झापामा दैनिकजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ। सडक प्रयोगकर्ताहरूलाई सावधानीपूर्वक गाडी चलाउन, राति तथा साँझमा विशेष सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

विशेषज्ञहरूका अनुसार, झापामा सवारी दुर्घटनाको बढ्दो क्रम सडक अवस्थाको कमजोर व्यवस्थापन, उच्च गति, र नियमको अवहेलनासँग सम्बन्धित छ। स्थानीय प्रशासनले सडक सुरक्षा अभियान, यातायात नियमको कडाइ, र सचेतना कार्यक्रम सुरु गर्नुपर्ने सुझाव दिएका छन्।