अण्डाको मूल्यमा ठूलो गिरावट : उत्पादन वृद्धि र भारतीय आयातका कारण किसान चिन्तित

173 Shares

काठमाडौं । नेपालमा अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जानकारी दिएको छ। उत्पादन वृद्धि र भारतबाट अण्डा आयात बढेपछि बजार मूल्यमा कमी आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताएका छन्।

नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटा) रु ३७५ र मिडियम अण्डा रु ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ थियो भने माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो। छोटो समयमै मूल्य निरन्तर घटेपछि किसानहरू थप मारमा परेका छन्।

गत मङ्सिर महिनामा भने अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसबेला फार्ममै ठूलो अण्डा प्रतिक्रेट रु ५६५ र मझौला अण्डा रु ५५० मा बिक्री भएको थियो। अहिले भने भारतीय सेतो अण्डा ठूलो मात्रामा नेपाल भित्रिनु र स्वदेशी उत्पादन बढ्नुले बजारमा प्रतिस्पर्धा चुलिएको अध्यक्ष पोखरेलले बताए।

उनका अनुसार स्वदेशी उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसान निराश बनेका छन्। भारतीय अण्डाको आयात नियन्त्रण गर्न सङ्घले सरकारी निकायसँग निरन्तर माग गर्दै आएको जानकारी पनि उनले दिएका छन्।

अण्डाको उत्पादन लागत प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा पर्न आउने अनुमान छ। यस आधारमा प्रतिक्रेट लागत मूल्य करिब रु ५७४ रुपैयाँ ६ पैसा पुग्ने देखिन्छ। अहिलेको बजार मूल्य लागतभन्दा निकै कम भएकाले कुखुरापालक किसान आर्थिक दबाबमा परेका छन्।

नेपाल लेयर्स कुखुरापालक सङ्घले देशभरका फार्मबाट मूल्य विवरण संकलन गरी चितवनलाई आधार मानेर समर्थन मूल्य निर्धारण गर्ने गरेको छ। बजार स्थिरता र किसानको संरक्षणका लागि सरकारी हस्तक्षेप आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।