राष्ट्रपति पौडेल जापान भ्रमण सकेर स्वदेश फर्किए

61 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। सो अवसरमा नेपाली सेनाले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले टोकियोमा आयोजित ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागिता जनाउँदै सम्बोधन गरेका थिए। त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा उनले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए। यसै क्रममा जापानका प्रधानमन्त्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता भएको थियो।

राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदाय तथा जापानमा बसोबास गरिरहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेका थिए। साथै, उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए।