पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

198 Shares

काठमाडौं । हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशका अधिकांश स्थानमा आंशिक बदली रहेको छ भने तराईका केही क्षेत्रमा हुस्सु लागेको छ।

मंगलबार दिउँसो हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षा हुने सम्भावना रहेको छ। अन्य हिमाली भू–भागका केही स्थानमा पनि मध्यम हिमपात र वर्षाको आँकलन गरिएको छ।

यसैगरी, गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मंगलबार राति हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा राति पनि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।