अमेरिकी राष्ट्रपति ट्रम्प: इरानलाई सहयोग गर्न तयार, शान्तिप्रिय प्रदर्शनकारीमाथि हिंसा भए कडा कदम

140 Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको वर्तमान परिस्थितिप्रति टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले इरानलाई स्वतन्त्रताको खोजीमा रहेको राष्ट्रको रूपमा उल्लेख गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिनुभएको हो। उहाँले भने, “इरान सम्भवतः पहिले कहिल्यै नभएको तरीकाले स्वतन्त्रताको खोजीमा छ, र अमेरिका सहयोगका लागि तयार छ।”

राष्ट्रपति ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले पटक–पटक चेतावनी दिँदै आएका छन् कि यदि इरानले शान्तिप्रिय प्रदर्शनकारीमाथि हिंसा गर्ने हो भने वासिङ्टनले कडा कदम चाल्नेछ। ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप बस्ने छैन भन्नुभएको छ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर समर्थन र संरक्षणको संकेत दिएको जनाएको छ।

गत डिसेम्बरको अन्त्यदेखि इरानी मुद्रा रियालको मूल्यमा आएको तीब्र गिरावट र लामो समयदेखिको आर्थिक कठिनाइका कारण इरानका विभिन्न शहरहरूमा विरोध प्रदर्शन भइरहेका छन्।

इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका छन्, तर हिंसा र तोडफोड नगर्न समेत चेतावनी दिएका छन्।