काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिइरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले विभिन्न देशका अभ्यास र स्वदेशी विज्ञहरूको सुझावका आधारमा स्वास्थ्य कर कोषको सम्पूर्ण बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने तर्क गर्नुभयो । हाल धूम्रपानजस्ता स्वास्थ्य करबाट संकलित रकम पनि मन्त्रालयले पूर्ण रूपमा नपाएको भन्दै त्यसबारे सरकार र अर्थ मन्त्रालयलाई थप दबाब दिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले बजेट माग गर्दा जिम्मेवार ढंगले प्रस्तुत हुन मातहतका निकायलाई निर्देशन दिँदै प्रमाण र आवश्यकता स्पष्ट गरेर मात्र बजेट प्रस्ताव गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गौतमले भन्नुभयो, ‘विभिन्न देशका अनुभव र विज्ञहरूको सुझाव पनि हामीसँग छन् । स्वास्थ्य करबाट उठेको रकम स्वास्थ्य क्षेत्रमा नै लगानी हुनुपर्छ भन्ने हाम्रो माग हो । तर हामीले अहिले पनि स्वास्थ्य कर कोषको सबै रकम पाएका छैनौँ । अब अर्थ मन्त्रालयलाई घचघच्याउन आवश्यक छ ।’
उहाँले मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर यथार्थपरक ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै सरकारले गलत निर्णय गरे त्यसलाई सच्याउन सुझाव दिनु पनि जिम्मेवार नागरिकको दायित्व भएको बताउनुभयो ।
मन्त्री गौतमले आर्थिक चापको अवस्थालाई आत्मसात गर्दै योजनाबद्ध र प्रमाणमा आधारित बजेट व्यवस्थापन गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया