एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको शासन सञ्चालन गर्ने र त्यहाँका तेल स्रोतहरूको व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ।
अमेरिकी सैन्य हस्तक्षेपपछि गरिएको यस घोषणालाई विश्वव्यापी रूपमा तथा संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै आलोचना गरिरहेका छन्। अमेरिकी सैन्य छापा र राष्ट्रपति मादुरो तथा उनकी पत्नीको गिरफ्तारीपछि राष्ट्रपति ट्रम्पले शनिबार अमेरिका भेनेजुएलालाई सुरक्षित, उचित र संक्रमणकालीन अवस्थासम्म सञ्चालन गर्ने बताउनुभयो।
फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निजी क्लबमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले संक्रमणकालीन शासन पूरा नभएसम्म अमेरिकाले भेनेजुएलाको जिम्मेवारी सम्हाल्ने स्पष्ट गर्नुभयो। उहाँले थप अमेरिकी सैन्य संलग्नताको सम्भावनालाई अस्वीकार नगर्दै प्रत्यक्ष सैन्य उपस्थितिबाट अमेरिका नडराउने समेत बताउनुभयो।
विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पीट हेगसेथलगायत शीर्ष अमेरिकी अधिकारीहरूले भेनेजुएलाको प्रशासन सञ्चालनमा सहयोग गर्न विशेष टोली बनाएर काम गर्ने जानकारी दिएका छन्। जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष ड्यान केनले मादुरोलाई पक्राउ गरेपछि अमेरिकी सेना भेनेजुएलामा रहने र सुरक्षा सुनिश्चित गर्ने बताउनुभयो।
संक्रमणकालमा अमेरिकी सैन्य उपस्थितिबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले तेलसँग सम्बन्धित विषयमा अमेरिका भेनेजुएलामा सक्रिय रहने उल्लेख गर्नुभयो। उहाँले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलाको ऊर्जा पूर्वाधार नियन्त्रणमा लिएर लगानी गर्न अनुमति दिने योजना रहेको पनि जानकारी दिनुभयो।
ट्रम्पका अनुसार भेनेजुएलाको भूमिबाट प्राप्त हुने ठूलो मात्राको सम्पत्ति त्यहाँका जनता र देशमा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि प्रयोग गरिनेछ। मादुरोलाई हिरासतमा लिएर महिनौँ लामो सैन्य दबाब अभियान सुरु गरिएको उल्लेख गर्दै ट्रम्पले आफ्नो प्रशासनले १९औँ शताब्दीको सुरुआतमा स्थापित मोनरो डक्ट्रिनलाई व्यवहारमा उतारेको दाबी गर्नुभयो।
यसैबीच, भेनेजुएलामा हालै भएका अमेरिकी आक्रमण र राष्ट्रपति मादुरोको गिरफ्तारीले अन्तर्राष्ट्रिय समुदायमा व्यापक निन्दा र गम्भीर चिन्ता पैदा गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया