भेनेजुएलाका राष्ट्रपति मादुरोले छिट्टै अमेरिकी अदालतमा मुद्दाको सामना गर्ने : अमेरिकी महान्यायाधिवक्ता बोन्डी

134 Shares

एजेन्सी। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि छिट्टै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताउनुभएको छ।

धनी दक्षिण अमेरिकी राष्ट्रबाट उनलाई पक्राउ गरी बाहिर लगिएपछि महान्यायाधिवक्ता बोन्डीको साेही भनाइ सार्वजनिक भएको हो । बोन्डीले शनिबार सामाजिक सञ्जालमा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताउनुभयो । मादुरोमाथि लागूऔषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको, तथा संयुक्त राज्य अमेरिका विरुद्ध ती हतियार प्रयोग गर्ने षड्यन्त्र गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको उहाँले जानकारी दिनुभयो ।

अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले जानकारी दिए अनुसार विदेशमन्त्री मार्को रुबियोले उहाँलाई फोन गरेर मादुरो पक्राउ परेको र मादुरो माथि अमेरिकामा फौजदारी अभियोगमा मुद्दा चलाइने बताउनुभएको थियो । उहाँ अनुसार यो कारबाही अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकार क्षेत्रभित्र पर्दछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको ठूलो स्तरको आक्रमणकाबीच मादुरो र उनकी पत्नीलाई कब्जामा लिएर देशबाहिर लगिएको घोषणा गर्नुभएको थियो ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सरकारी टेलिभिजनमार्फत मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको बताउँदै ट्रम्पसँग उनीहरू जीवितै रहेको प्रमाण माग गर्नुभएको छ । लामो समयदेखि अमेरिकाले क्यारिबियन क्षेत्र र भेनेजुएलाको समुन्द्री तटमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको थियो । अमेरिकाले यसलाई लागूऔषध तस्करी विरुद्धको अभियान बताए पनि भेनेजुएलाले भने यसलाई राजधानी काराकासमा सत्ता परिवर्तन गर्ने षड्यन्त्रको रूपमा निन्दा गर्दै आएको छ ।

a.webp