आम निर्वाचनअन्तर्गत म्यान्मारमा पहिलो चरणको मतदान

168 Shares

एजेन्सी। म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत आइतबार मतदान भइरहेको छ।

देशका अधिकांश भागमा अझै पनि गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदेखि नै विवादमा परेको छ। तीन चरणमा सम्पन्न हुने निर्वाचनको अन्तिम नतिजा आगामी जनवरीमा थप दुई चरणको मतदान सकिएपछि मात्र स्पष्ट हुने बताइएको छ। पहिलो चरणमा देशभरका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये १ सय २ स्थानमा मतदान भइरहेको छ। दोस्रो चरण जनवरी ११ र तेस्रो चरण जनवरी २५ तारिखमा हुने तय भएको छ। निर्वाचनको अन्तिम परिणाम फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

सत्ता कब्जापछि निरंकुश शासन चलाउँदै आएका वरिष्ठ जनरल मिन आङ ह्लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्ने सम्भावना रहेको व्यापक अनुमान गरिएको छ। सैनिक सरकारले निर्वाचनलाई ‘चुनावी लोकतन्त्रतर्फ फर्कने प्रक्रिया’का रूपमा प्रस्तुत गरे पनि प्रमुख विपक्षी दलहरूलाई प्रतिबन्ध लगाइएको तथा मतदातामाथि डर–धम्की दिइएको आरोपले यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको छ।

राष्ट्रिय तथा क्षेत्रीय विधानसभाका लागि ५७ वटा दलबाट ४ हजार ८ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। तर देशव्यापी रूपमा प्रभाव जमाउन सक्ने दलहरूको संख्या सीमित रहेको बताइन्छ। सेनाको समर्थन प्राप्त युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीलाई सबैभन्दा संगठित र बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।

आलोचकहरूले भने यस निर्वाचनलाई सैन्य शासनलाई वैधानिकता दिन गरिएको ‘ढोंग’को संज्ञा दिएका छन्। फेब्रुअरी २०२१ मा निर्वाचित प्रधानमन्त्री आङ सान सुकीको सरकार अपदस्थ गरेपछि सुरु भएको सैन्य शासनलाई नागरिक शासनको आवरण दिन निर्वाचनको योजना बनाइएको उनीहरूको आरोप छ।