जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु, सोमबार जनकपुरमा हुने

242 Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न माग राख्दै प्रदेशस्तरीय विरोध सभा सुरु गरेको छ।

संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था लगायतका २८ बुँदे माग तथा राष्ट्रिय मुद्दा उठाउँदै जसपा नेपालले चरणबद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा सुरु गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

बस्नेतका अनुसार विरोध सभाको पहिलो कार्यक्रम आज विराटनगरमा आयोजना गरिएको छ। त्यसैगरी पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना हुने जनाइएको छ।

विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसअघि पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको बस्नेतले बताए।

सङ्घर्षका कार्यक्रमअन्तर्गत जसपा नेपालले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध कार्यक्रम, कोण सभा, साथै पार्टीका माग र मुद्दा अङ्कित प्लेकार्ड तथा ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा/जनसभा समेत आयोजना गर्दै आएको छ।