आईटी पढ्दै कमाउँदै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी

1k Shares

घोराही । महेन्द्र बहुमुखी क्याम्पस दाङमा वि.एस.सि. सिएसआईटी र बि.सि.ए.मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजनमार्फत उनीहरूले नयाँ–नयाँ परियोजना निर्माण गरी व्यवहारिक अनुभव बटुलिरहेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थीहरूले आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका थिए । 

वि.एस.सि. सिएसआईटी तेस्रो सेमेस्टरकी निरुता आचार्यले ‘लबलाइन्स’ नामक मोबाइल एप विकास गरी गुगल प्ले स्टोरमा सार्वजनिक गरेको जानकारी दिनुभएको थियो । यसले उहाँलाई नयाँ चुनौतीहरू स्वीकार गर्न प्रेरित गरेको अनुभव सुनाउनु भयो । 

वि.एस.सि. सिएसआईटी छैटौं सेमेस्टरका आयुस अधिकारीले ‘फाइनान्स एफ’ एप निर्माण गरेको र सातौं सेमेस्टरका जगदिश पौडेलले ‘प्रश्नपत्रको संगालो – सिएसआईटी प्रो’ नामक एप लन्च गरेको जानकारी दिनुभयो ।  यी एपहरू हाल १०० भन्दा बढी सक्रिय प्रयोगकर्ताले प्रयोग गरिरहेका उनीहरुको भनाई थियो । 

त्यस्तै, वि.एस.सि. सिएसआईटी छैटौं सेमेस्टरका जगदिश वलि, निर्देश तिवारी, कमल भट्टराई तथा बि.सि.ए. चौथो सेमेस्टरका संजय कार्कीले वेबसाइट डिजाइनमार्फत आम्दानी गरिरहेको बताउनुभएको थियो । विद्यार्थीहरूले यस किसिमको व्यवहारिक अवसर प्रदान गरेकोमा क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन र सिएसए क्लबलाई धन्यवादसमेत ज्ञापन गरेका थिए । क्याम्पस स्ववियु सभापति दिपेश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कृष्णदेव थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सागर पण्डितले गर्नुभएको थियो ॥