काठमाडौं । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छिन् ।
कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछिन् । “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन आउने गरेकी छु,” उनले भनिन्, “कृषि उपज केन्द्रले हामीजस्ता विद्यार्थी र मेहनत गर्ने किसान दुवैलाई सहज बनाएको छ ।”
किसानबाट सिधै सुपथ मूल्यमा आवश्यक सागसब्जी किन्न पाउँदा आफू खुसी भएको उनले बताइन् । केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि सहज बजार पाउनुका साथै उपभोक्ताले पनि सस्तोमा ताजा कृषि उपज किन्न पाएको उनको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१५ की सरिता खड्का पनि हरेक बिहान यही केन्द्रबाट सागसब्जी खरिद गर्छिन् । विगतमा किसानले आफ्नै तरिकाले सागसब्जी तथा फलफूल बिक्री गर्दै आए पनि कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएपछि किसान र उपभोक्ता दुवैलाई सहज भएको उनी बताउँछिन् ।
“बाहिरभन्दा यहाँ सागसब्जी राम्रो पाइने भएकाले बिहानै लिन आउने गरेकी छु,” उनले भनिन्, “बिहान हिँड्दा स्वास्थ्यलाई पनि फाइदा हुने र ताजा सागसब्जी पनि लैजान पाइने भएकाले राम्रो भएको छ ।” बिचौलियाको प्रभाव कम हुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि उपज खरिद गर्न पाउने उनले बताइन् ।
घोराही उपमहानगरपालिका–७ का किसान रामकुमार चौधरीले व्यापारीले अन्यत्र सस्तो मूल्यमा सागसब्जी खरिद गर्न खोज्ने भए पनि कृषि उपज बिक्री केन्द्रमा आफूले तोकेको मूल्यमा बिक्री गर्न पाएको बताउँछन् । उनले १५ कठ्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जी खेती गर्दै आएका छन् ।
“बाहिरको मूल्यभन्दा पाँच–दश रुपैयाँ बढीमा यहाँ बिक्री गर्ने गरेको छु,” उनले भने । सागसब्जी खेतीबाट मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । केन्द्रमा आफ्नो उत्पादन राम्रोसँग बिक्री हुँदै आएको बताउँदै चौधरीले आफूले उत्पादन गरेका अधिकांश कृषि उपज यहीँ ल्याएर बिक्री गर्ने गरेको जानकारी दिए ।
“घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याउने गरेको छु । ल्याएको जति प्रायः सधैँ बिक्री हुन्छ, कहिलेकाहीँ मात्रै बाँकी रहन्छ,” उनले भने ।
घोराही उपमहानगरपालिका–८ की निर्मला चौधरी पनि घरमा उत्पादन भएको सागसब्जी बिक्री गर्न केन्द्रमा आउने गर्छिन् । व्यावसायिक रूपमा खेती नगरे पनि घरमा खाएर बचेको सागसब्जी बिक्री गर्न समस्या नभएको उनी बताउँछिन् । केन्द्रबाट ताजा सागसब्जी सुपथ मूल्यमा पाउन थालेपछि उपभोक्तासमेत खुसी भएको उनको भनाइ छ ।
कृषि उपज बिक्री केन्द्रमा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा ताजा कृषि उपज खरिद गर्न पाउने अवस्था बनेको छ । घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको केन्द्रमा किसानले दैनिक रु १५ शुल्क तिरेर गाउँबाट ल्याएको ताजा सागसब्जी बिक्रीका लागि राख्ने गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डे कृषि उपज बिक्री केन्द्र सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका किसानलाई घरघरमा पुगेर सागसब्जी बिक्री गर्नुपर्ने बाध्यता हटेको छ भने बिचौलिया नहुँदा किसान र उपभोक्ता दुवै लाभान्वित भएका उनी बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया