क्याम्पसको निर्णय प्रक्रियामा सहभागी नगराए आफ्नै तरिकाबाट चल्ने स्ववियुको चेतावनी

321 Shares

दाङ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङले क्याम्पस प्रशासनले गर्ने निर्णयहरुमा आफूहरुलाई सहभागी नगराएको जनाएको छ । 

स्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनका पछिल्ला गतिविधिहरुले स्वतन्त्र विद्यार्थी युनियनसँग कुनै पनि समन्वय नगरी एकलौटीरुपमा क्याम्पसले आफ्ना निर्णय गरेको जनाएको हो । 'हामीले पटक पटक अपिल गर्दा पनि क्याम्पस प्रशासनले एकलौटी निर्णय गरेर काम अगाडि बढाएको देखिन्छ', विज्ञप्तिमा भनिएको छ । यस्ता कार्यहरु रोक्न अपिल गर्दै, स्ववियुलाई जानकारी नगराई विद्यार्थी सरोकारका विषयमा निर्णय नगर्न र गरिएका निर्णयहरु फिर्ता लिन भनेको छ ।

56fa3d3c-ada5-4b2b-8631-3f00ff3afa88.jpeg

cb46e845-1012-4cfb-a800-0b66f6cc104c.jpeg

साथै विभिन्न १२ वटा माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनमा आज ज्ञापनपत्रसमेत बुझाएको छ । क्याम्पसमा विद्यार्थीको उपस्थित विना कुनै पनि निर्णय गर्न नमिल्ने र २०८१ चैत्र ५ गतेपछि गरेका सबै निर्णयहरु २ दिनभित्र सार्वजनिक गर्न ज्ञापनपत्रमार्फत माग गरेको छ । विद्यार्थी र स्ववियुको सहभागिता विना गरिएका निर्णयहरु तत्काल खारेज गर्न भनेको छ, भने निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराए स्ववियु आफ्नै तरिकाबाट चल्ने चेतावनीसमेत दिएको छ ।

विद्यार्थीका सहजताका लागि साउन १ गतेबाट डिजिटल (क्युआर)बाट  भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुका साथै विषयगत शिक्षकले विषयभन्दा बाहिरका विषयमा अध्यापन नगराउन आग्रह गरेको छ । अबदेखि कुनै पनि शिक्षकले विषयभन्दा बाहिर गएर अध्यापन गराए आफूहरुलाई स्विकार्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ । 

शिक्षकहरु नियमित उपस्थित नहुँदा पठनपाठनमा अन्यौलता देखिएको भन्दै डिजिटल हाजिरीको व्यवस्था गर्न भनेको छ । विभिन्न संकायमा तोकिएको प्रयोगात्मक पाठ्यक्रमहरु मापदण्डअनुसार अनिवार्यरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनका कर्मचारीहरु शाखामा उपस्थित नुहँदा विद्यार्थी अन्योलमा परेकाले उक्त समस्याको तत्काल समाधान गर्न आग्रह गरेको छ भने, कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोपसमेत विज्ञप्तिमा जनाएको छ ।

क्याम्पसभित्रका विद्यार्थीका लागि महत्वपूर्ण हुने सूचना विद्यार्थीहरुका लागि नपुगेको भन्दै सूचना अधिकारीको व्यवस्था गर्न माग गरेको छ । प्रशासनिक कामहरु फरक फरक ठाउँबाट हुँदा झन्झटिलो भएको र त्यसलाई एकै ठाउँमा कार्यसम्पादन गर्नको लागि माग गरेको छ । विद्युत आपूर्ति अनियमित हुँदा विहानी कक्षाका विद्यार्थीहरुलाई अध्ययनमा समस्या भएकाले सोलार अथवा जेनेटरको व्यवस्था गर्न माग गरेको छ।