H–1B भिसा कामदारलाई ‘दास’ भनेपछि जेडी भान्समाथि भारतको कडा आपत्ति

44 Shares

नयाँ दिल्ली । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले H–1B भिसामार्फत अमेरिकामा काम गर्ने विदेशी कामदारलाई ‘Indentured Servants’ अर्थात् बन्धनमा परेका सेवकको संज्ञा दिएपछि भारतले कडा आपत्ति जनाएको छ। भारतको विदेश मन्त्रालयले भान्सको अभिव्यक्तिलाई ‘अनुचित’ र ‘गहिरो रूपमा आपत्तिजनक’ भन्दै आलोचना गरेको हो।

भारतको विदेश मन्त्रालयले अमेरिकामा कार्यरत भारतीय पेशाकर्मीहरू उच्च शिक्षित, दक्ष र अमेरिकी अर्थतन्त्र तथा नवप्रवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने जनशक्ति भएको जनाएको छ।

मन्त्रालयका अनुसार अमेरिकाको आर्थिक विकास र समृद्धिमा विभिन्न पुस्ताका आप्रवासीहरूको श्रम, उद्यमशीलता र नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यस्तो ऐतिहासिक योगदानलाई बेवास्ता गर्दै औपनिवेशिक इतिहाससँग जोडिएको शब्दावली प्रयोग गर्नु गम्भीर रूपमा आपत्तिजनक भएको भारतको भनाइ छ।

के भनेका थिए जेडी भान्सले?

भिसा ठगीसम्बन्धी विषयमा आयोजित पत्रकार सम्मेलनमा भान्सले अमेरिकी कम्पनीहरूले आफ्ना नागरिक कामदारलाई हटाएर कम पारिश्रमिकमा विदेशी कामदार नियुक्त गर्ने गरेको आरोप लगाएका थिए।

उनले एच–१बी भिसामा अमेरिकामा काम गर्ने व्यक्तिले समान पदमा कार्यरत अमेरिकी नागरिकभन्दा वार्षिक २० हजार डलर कम कमाउने र केही विदेशी आउटसोर्सिङ कम्पनीमार्फत आएका कामदारको पारिश्रमिकमा यस्तो अन्तर ४८ हजार डलरसम्म पुग्ने दाबी गरेका थिए।

भान्सले विदेशी कामदारको नियुक्तिले अमेरिकी नागरिकको रोजगारी र पारिश्रमिकमा असर पारेको तर्क गर्दै एच–१बी प्रणालीको दुरुपयोग रोक्नुपर्ने बताएका थिए। 

ग्रीनकार्ड प्रक्रियामा पनि अमेरिकी कडाइ

भान्सको अभिव्यक्ति अमेरिकाले केही ठूला प्रविधि कम्पनीका लागि स्थायी श्रम प्रमाणीकरण (PERM) कार्यक्रमअन्तर्गतका आवेदन रोक्ने निर्णय सार्वजनिक गरेको समयमा आएको हो।

माइक्रोसफ्ट, एडोबी, इन्फोसिस, टाटा, विप्रो, एचसीएल, कग्निजेन्ट र क्यापजेमिनीजस्ता कम्पनी प्रभावित सूचीमा परेका छन्। अमेरिकी प्रशासनले विदेशी कामदार नियुक्तिसम्बन्धी प्रक्रियामा सम्भावित अनियमितता र अमेरिकी कामदारको रोजगारीमा परेको असरलाई यसको कारणका रूपमा प्रस्तुत गरेको छ। 

भारतको विदेश मन्त्रालयले भने PERM कार्यक्रम र H–1B भिसा फरक प्रक्रिया भएको स्पष्ट पारेको छ। PERM आवेदन स्थगन हुँदैमा विद्यमान H–1B भिसा स्वतः अमान्य नहुने भए पनि प्रभावित कर्मचारीको स्थायी बसोबास अर्थात् ग्रीनकार्ड प्राप्त गर्ने प्रक्रियामा असर पर्न सक्ने मन्त्रालयले जनाएको छ।

भारत–अमेरिका सम्बन्धमा थप दबाब?

भारतले दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय आवागमनले दुवै देशलाई फाइदा पुर्‍याउने बताएको छ। भारतीय पेशाकर्मीले अमेरिकामा प्रविधि, अनुसन्धान, उत्पादकत्व, प्रतिस्पर्धात्मक क्षमता र रोजगारी सिर्जनामा योगदान दिइरहेको भारतको तर्क छ।

अमेरिकी कम्पनीहरूलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनु दुवै देशको आर्थिक हितसँग जोडिएको विषय भएकाले यस्तो सहकार्यलाई कमजोर पार्ने कदमले साझा लक्ष्य हासिल गर्न सहयोग नगर्ने भारतले जनाएको छ।

H–1B भिसा, विदेशी कामदारको रोजगारी र ग्रीनकार्ड प्रक्रियासम्बन्धी अमेरिकी नीतिमा कडाइ भइरहेका बेला भान्सको अभिव्यक्तिले दुई देशबीचको बहसलाई थप चर्काएको छ।