काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ सालमा राज्य सत्ता हातमा लिँदा लगेकाे टेलिफोनको तार अहिलेसम्म फिर्ता नगर्नुभएको आरोप लगाउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेर्स्याएको र टेलिफोनको तारसमेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाउनु भयो ।
पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै उहाँले विगतमा फालिसकेको र सयाैं वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको बताउनु भयो । उहाँले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला ? भन्दै प्रश्नसमेत गर्नुभयो ।
पूर्वराजाप्रति लक्षित गर्दै उहाँले २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? भन्दै प्रश्न गर्नुभयो । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? महाराजधिराज भएर बस्ने ? हामीलाई हुकुम दिने ? प्रधानमन्त्री ओलीको प्रश्न छ । उहाँले चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाउनु भयो ।
टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि प्रधानमन्त्रीको भनाइ छ । नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर सल्बलाएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्ने कुरा सह्य नहुने चेतावनी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया