काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउँदै उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गर्नुभयो । उहाँले काँग्रेस लायक पार्टी नभएको आरोप पनि लगाउनु भयो ।
माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीको बिरुद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गर्नुभयो । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताउँदै उहाँले प्रदर्शनमा आउनेहरुले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाब माग्नुपर्ने बताउनु भयो ।
महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताउनु भयो । उहाँले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया