
पं-बालमुकुन्द देवकोटा
काठमाडौं । २०८२ साल साउन २५ गते आइतबार भाद्रकृष्ण प्रतिपदा तिथी अपरान्ह: १२ / ४३ बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ हुने र यो दिन गाईजात्रा पर्व परेकाे छ ।
नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व पनि हो गाईजात्रा । वर्ष दिनभित्र दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ । हिन्दू धर्मअनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ । हाम्रो संस्कृति, हाम्रो पहिचान हो । अघिल्लो पुस्ताले हामीलाई दिएको मौलिक सम्पत्ती हो । त्यसैले यसलाई जर्गेना गर्ने दायित्व पनि हाम्रो हो । संसारलाई बदल्नु छ भने सुरुवात आफैंबाट गर भन्ने हाम्रो ऐतिहासिक धरोहर, हाम्रो संस्कृतिको सम्वर्द्धन र प्रवर्द्धन अहिलेबाट आफैं गर्नुपर्छ । कुनै बेला नेवारी समुदायमा मात्र सिमित रहेको गाईजात्राले राष्ट्रिय पर्वका रुपमा मान्यता पाएको छ । सामाजिक मेलमिलाप सद्भाव विकासमा ठूलो भूमिका खेलेको यो पर्वले हाम्रो देश नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन पनि सहयोग पुर्याएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया