यस्ताे छ नागपञ्चमीको धार्मिक महत्व

233 Shares

पं- बालमुकुन्द देवकोटा

काठमाडाैं । मिति २०८२ साल साउन १३ गते मंगलबार । श्रावण शुक्लपक्ष पञ्चमी तिथी राति १२ / ५१ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ यो दिन नाग पञ्चमी भएकोले घरमा नाग टाँस्नु पर्दछ।

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने गरेमा यो दिनमा शुभ मानिन्छ। यो दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो  राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। यो दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।

हुन त सबै चाडपर्वहरू मनाउनुको पछाडि कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिच्छी आदि बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । हिन्दू धर्मको मान्यताअनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् । त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न। यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्।

बर्षायाममा घर वरपर ठूलठूला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जीव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ । अर्को कुरा साउन भदौतिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ । यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् । यस्तो अवसरमा घर वरपर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउँछन्।मानिसहरू चाडपर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आँगन सफा गर्छन् । यसरी घर आँगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन। यसकारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुँदैन भन्ने कुरा सत्य मानिन्छ।

ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथीका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन । नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई उहाँलाई अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ।

साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ। यो दिन सर्वप्रथम नाग देवताको मूर्ति नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुँदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ। नाग पूजा गर्दा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरपटीबाट पूजा गर्दा आफूलाई पीडा, पछाडिबाट पूजा गर्दा छोरा र पत्नीलाई दु:ख हुने भएकोले भाद्र, आश्विन र कार्तिकमा पूर्व । मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र वैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ। यो विचार गरेर मात्र घरको वरिपरि वा खेतमा पूजा गर्दा राम्रो हुनेछ। 

नाग पञ्चमीको दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा पिठोको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, सेतो फूल, अक्षता, चामल पिंधेर त्यसको पानी , कपासको सात तले बनाएर, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

नाग टाँसेर नागको प्राथना गर्ने मन्त्रः

"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। 
एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।

नागमन्त्र पाठ गर्न असम्भव भए 'ॐ कुरुकुल्ये हुँ फट स्वाहा' मन्त्रको ९००० पटक जप गर्ने गरिन्छ। नागगायत्रीको मन्त्र (ॐ नव कुलाय विधाहे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै यो दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ।