काठमाडौं । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् । प्रहरीले मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित एक होटल र बिर्तामोड नगरपालिका–५ जिराइत टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
शनिबार साँझ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टास्थित होटलमा छापा मार्दा तीन जनालाई नियन्त्रणमा लिएको थियो । सो क्रममा उनीहरूको साथबाट तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बिर्तामोड–५ जिराइत टोलबाट पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । प्रहरीले उनको कोठामा समेत खानतलासी गर्दा लागूऔषध कारोबारमा प्रयोग हुन सक्ने डिजिटल तराजु, छुरी र कैँची बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार राजवंशीको कोठाबाट १३ लाख ३९ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । लागूऔषधसँगै ठूलो रकम र अन्य सामग्री फेला परेपछि प्रहरीले घटनालाई थप अनुसन्धानको दायरामा राखेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का २३ वर्षीय सचिन राई, दमक नगरपालिका–७ की ३० वर्षीया मिना राई, सोही स्थानकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर नगरपालिका–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन् ।
प्रहरीले पक्राउ परेका चारै जनामाथि लागूऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ । बरामद लागूऔषध, नगद तथा अन्य सामग्रीको स्रोत र उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापाका विभिन्न स्थानमा लागूऔषध नियन्त्रण तथा कारोबारमा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया