वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्दैछौँ: श्रममन्त्री यादव

11 Shares

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले १९ वर्षपछि वैदेशिक रोजगार ऐनलाई व्यापक रूपमा संशोधन गर्न लागिएको बताएका छन् । श्रम, रोजगारी तथा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्दै प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नीतिगत तथा कानुनी सुधारको प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्नुका साथै विगतमा भएका कमजोरी सच्याएर श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताए ।

उनले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउने काम भइरहेको उल्लेख गर्दै विगतका कामकारबाहीमा रहेका कमी–कमजोरी सुधार गरेर अघि बढिरहेको बताए ।

‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथितिहरू हटाइरहेका छौँ । वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ । विगतका काम, कमी कमजोरी सच्याइरहेका छौँ,’ मन्त्री यादवले भने ।

उनका अनुसार समय र नागरिकको आवश्यकताअनुसार नीति, ऐन तथा नियमावलीमा सुधार गरी सरकारी प्रणालीप्रति नागरिकको विश्वास बढाउने प्रयास भइरहेको छ । लामो समयदेखि कानुनी तथा नीतिगत सुधारको प्रतीक्षामा रहेका श्रम र रोजगार क्षेत्रका समस्यालाई सम्बोधन गर्न सरकारले प्राथमिकताका साथ काम अघि बढाएको उनले बताए ।

मन्त्री यादवले सरकारले राष्ट्रिय रोजगार ऐन निर्माणको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । प्रस्तावित ऐनमा सामाजिक उद्यमशीलताको विषयलाई समेत समेटिने उनले स्पष्ट पारे ।

‘नभएको राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ । आज उठेको सामाजिक उद्यमशीलता आउने राष्ट्रिय रोजगारमा समेट्नेछु भनेर यहीँबाट घोषणा गर्दछु,’ उनले सम्मेलनमा भने ।

त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समयसापेक्ष परिमार्जन गर्ने तयारी भइरहेको मन्त्री यादवले जानकारी दिए । बदलिँदो समय, युवाको आवश्यकता र अवसरका आधारमा युवा क्षेत्रसम्बन्धी कानुनी व्यवस्था सुधार गर्न लागिएको उनको भनाइ छ ।

राष्ट्रिय युवा ऐन संशोधनका क्रममा राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको पनि उनले बताए । यस व्यवस्थाले युवा नेतृत्व र सहभागितालाई संस्थागत गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।

मन्त्री यादवले युवाका लागि नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन बलियो नीतिगत तथा कानुनी आधार आवश्यक रहेको बताए ।

‘नयाँ अवसरहरू सिर्जना गर्नु जति आवश्यक छ, ती अवसरहरू फस्टाउन बलियो आधार तयार गर्नु पनि त्यत्तिकै आवश्यक छ । हामी त्यही गरिरहेका छौँ,’ उनले भने ।

सरकारले युवालाई नीति निर्माण प्रक्रियामा सहभागी गराउन चाहेको उल्लेख गर्दै मन्त्री यादवले युवासँगको सहकार्य र सुझावका आधारमा रोजगार तथा अवसर सिर्जनासम्बन्धी कार्यक्रम अघि बढाउने बताए । युवाको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै उनीहरूसँगै मिलेर नयाँ अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।

वैदेशिक रोजगार ऐन संशोधन, राष्ट्रिय रोजगार ऐन निर्माण र राष्ट्रिय युवा ऐनको परिमार्जनलाई सरकारले अघि बढाएको नीतिगत सुधारका महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै मन्त्री यादवले श्रम, रोजगार तथा युवा क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।