चेपाङ बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै बेनीघाट रोराङ

10 Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सञ्चालन गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन् ।

गाउँपालिकाले आज आयोजना गरेको शैक्षिक सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले गरिबी, भौगोलिक विकटता र सामाजिक विभेदका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनु, उनीहरूलाई विद्यालयमा टिकाइराख्नु र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।

उनले शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएकाले आर्थिक तथा सामाजिक अवस्थाका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिए । विशेषगरी सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई शिक्षाको मूल प्रवाहमा ल्याउन स्थानीय तहले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले गाउँपालिकाले शिक्षाका लागि भिक्षा महायज्ञ आयोजना गरेर करिब ६ करोड रुपैयाँ सङ्कलन गर्नु र विपन्न, चेपाङ, असहाय तथा अभिभावकविहीन बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउन शैक्षिक उत्थान कोष स्थापना गर्नु सकारात्मक पहल भएको उल्लेख गरे ।

त्यसैगरी, एकीकृत आवासीय विद्यालयको अवधारणामार्फत करिब एक हजार चेपाङलगायत समुदायका बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्ने प्रयासलाई उनले सामाजिक न्याय र शैक्षिक समानताको महत्त्वपूर्ण उदाहरणका रूपमा व्याख्या गरे ।

भौगोलिक विकटता, आर्थिक अभाव तथा पारिवारिक परिस्थितिका कारण नियमित विद्यालय जान कठिनाइ हुने बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको अवसर उपलब्ध गराउँदा उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।

गाउँपालिकाले शिक्षाको महत्त्वबारे अभिभावकलाई सचेत गराउन टोलटोलमा रात्रिकालीन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै घरघरमै पुगेर शैक्षिक अवस्थाको समीक्षा गर्ने अभ्यास पनि सकारात्मक रहेको उनले बताए ।

अध्यक्ष दाहालले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । बालबालिकालाई विद्यालय भर्ना गराउनु मात्रै पर्याप्त नभई उनीहरूले नियमित अध्ययन गर्ने वातावरण निर्माण गर्नु र गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चितता गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

बेनीघाट रोराङ गाउँपालिकाले चेपाङलगायत सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न सञ्चालन गरेका कार्यक्रमले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई शिक्षाको अवसर उपलब्ध गराउने प्रयासलाई प्राथमिकता दिएको छ ।