सडकका छाडा चौपाया गौशालामा, धनगढीवासीलाई राहत

10 Shares

काठमाडौं । बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाका कारण हुने सवारी दुर्घटनाको जोखिम तथा बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दालाई गौशाला सञ्चालनले राहत दिएको छ । उपमहानगरपालिकाले सामुदायिक पशुचौपायालाई विभिन्न स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेपछि सडक दुर्घटना र खेतीबालीमा हुने क्षतिका समस्या कम हुँदै गएको स्थानीयले बताएका छन् ।

धनगढीका स्थानीय सीता जोशीका अनुसार विगतमा सडकमा छाडिएका पशुका कारण दैनिकजसो दुर्घटनाको जोखिम रहने गरेको थियो । सवारीसाधन पशुसँग ठोक्किएर दुर्घटना हुँदा स्थानीयले आफ्नै आँखाअगाडि त्यस्ता घटना देख्नुपर्ने अवस्था थियो । अर्कोतर्फ, खेतबारीमा छिरेर बालीनाली नष्ट गर्ने पशुबाट जोगाउन परिवारका सदस्य नै गोठालो लाग्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ ।

अहिले सामुदायिक पशुको व्यवस्थित व्यवस्थापन सुरु भएपछि विगतको तुलनामा स्थानीयले भोग्दै आएको सास्ती कम भएको उनी बताउँछिन् ।

धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा संरक्षण गर्ने उद्देश्यले वडा नं. ७ को देवरिया, वडा नं. १६ को रामपुर र वडा नं. १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ । ती गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार गरी संरक्षण गरिएको उपमहानगरपालिकाले जनाएको छ । आगामी दिनमा गौशालाको सङ्ख्या थप विस्तार गर्ने योजना पनि उपमहानगरपालिकाको छ ।

फूलबारीस्थित हाम्रो गौशालामा मात्रै अहिले ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ । गौशालाको व्यवस्थापन तथा पशुहरूको हेरचाहका लागि कार्यरत आठ जना कर्मचारीलाई धनगढी उपमहानगरपालिकाले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

निर्वाचनमा उठेको मुद्दा गौशाला निर्माणबाट सम्बोधन

विसं २०७९ को स्थानीय तह निर्वाचनका बेला धनगढीका सहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाले उठाएको प्रमुख मागमध्ये छाडा पशुचौपायाको उचित व्यवस्थापन पनि एक थियो । निर्वाचनका क्रममा मत माग्न पुगेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग स्थानीयले सामुदायिक पशुको व्यवस्थापनका लागि ठोस योजना ल्याउन माग गरेका थिए ।

त्यतिबेला नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले निर्वाचित भए नगरपालिकाको बजेटबाट र पराजित भए निजी खर्चबाट भए पनि गौशाला निर्माण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त निर्वाचनमा हमाल नगर प्रमुखमा निर्वाचित भएपछि सोही प्रतिबद्धताअनुसार गौशाला निर्माण तथा सञ्चालनको काम अघि बढाइएको हो । गौशालाका व्यवस्थापक डेगमान पौडेलका अनुसार २०८० मङ्सिरदेखि फूलबारीमा छाडा गाईवस्तुलाई राख्न थालिएको थियो ।

निर्वाचनका बेलाको अवस्था सम्झँदै व्यवस्थापक पौडेलले स्थानीयले उम्मेदवारसँग अन्य सुविधा नचाहिएको तर खेतीबाली जोगाउन छाडा गाईवस्तुको व्यवस्थापन गरिदिन आग्रह गर्ने गरेको बताए ।

“निर्वाचनका क्रममा भोट माग्दै हिँड्दाखेरि यहाँका जनताले हामीलाई केही चाहिँदैन, खेती खान पाएनौँ यी गाईको व्यवस्थापन चाहिँ गरिदिनुहोस् भनेर उम्मेदवारलाई भनेका थिए,” पौडेलले विगत सम्झँदै भने, “हमाल नगर प्रमुखमा विजयी भएपछि पहिलो पटक ५० लाख रुपैयाँ विनियोजन गरिदिनुभयो ।”

पहिलो वर्ष विनियोजित रकमबाट गौशालामा दुईवटा टहरा निर्माण गरिएका थिए । त्यसपछि अर्को वर्ष नगरपालिकाले थप एक करोड रुपैयाँ विनियोजन गरेको थियो । हालसम्म फूलबारीस्थित गौशालामा मात्रै पाँचदेखि छ करोड रुपैयाँसम्म लगानी भइसकेको व्यवस्थापक पौडेलले जानकारी दिए ।

उनका अनुसार विसं २०८० मङ्सिर १४ गते स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा ५०५ वटा गाईलाई गौशालामा ल्याएर राखिएको थियो । साढे तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त गौशाला अहिले सामुदायिक पशुका साथै स्थानीयले घरमा पाल्न नसकेका गाईवस्तुको हेरचाह गर्ने स्थलसमेत बनेको छ ।

घरपालुवा पशु राख्न पनि शुल्क

घरमा गाईवस्तु पाल्न नसक्ने भएपछि आसपासका गाउँका बासिन्दाले समेत आफ्ना पशु गौशालामा ल्याउन थालेका छन् । यसरी ल्याइएका घरपालुवा गाईका लागि गौशालाले प्रतिगाई दुई हजार रुपैयाँ शुल्क लिँदै आएको छ ।

यसले गौशालालाई छाडा पशु व्यवस्थापन गर्ने स्थानमा मात्र सीमित नराखी स्थानीय पशुपालकलाई समेत सहयोग पुर्‍याउने केन्द्रका रूपमा विकास गरेको छ ।

गौशालामा गाईवस्तुको सङ्ख्या बढेसँगै व्यवस्थापन खर्च जुटाउन मल र दूध बिक्री गर्ने काम पनि सुरु गरिएको छ । गाईको गोबरबाट जैविक मल उत्पादन गरी बिक्रीवितरण गर्न थालिएको छ । त्यसबाट प्राप्त रकम कर्मचारीलाई थप पारिश्रमिक दिन तथा पशुका लागि दाना, भुसा र पराल खरिद गर्न उपयोग भइरहेको व्यवस्थापक पौडेलले बताए ।

“गौशालाबाट प्रतिघनमिटर एक हजार रुपैयाँमा गोबर बिक्री हुन्छ, केही दूध पनि बिक्री गर्छौं,” उनले भने, “यसबाट भुसा, पराल र दाना किन्न सहयोग मिलेको छ ।”

दाना र परालको अभाव प्रमुख चुनौती

गौशालामा गाईवस्तुको सङ्ख्या बढ्दै गए पनि उनीहरूका लागि आवश्यक दाना र परालको पर्याप्त व्यवस्था गर्न कठिन भइरहेको व्यवस्थापक पौडेलको गुनासो छ । उपलब्ध पराल र दाना अपुग भएपछि दिउँसो गाईलाई चराउन तीन किलोमिटर टाढाको जङ्गलसम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताए ।

गाई चराउन पाँच जना कर्मचारी सँगै जानुपर्ने भए पनि सबै पशुलाई नियन्त्रणमा राख्न कठिन हुने गरेको छ । कतिपय गाई जङ्गलतर्फ र कतिपय बस्तीतर्फ भाग्ने भएकाले फेरि खोजेर गौशालामा ल्याउनुपर्ने अवस्था रहेको पौडेलले सुनाए ।

“गाई चराउन पाँचजना सँगसँगै जान्छौँ । त्यति गर्दा पनि कोही जङ्गल त कोही बस्तीतर्फ भाग्छन् । अनि फेरि खोजेर ल्याउँछौँ,” उनले भने ।

गौशालाको सञ्चालन र पशुहरूको हेरचाहका लागि आवश्यक स्रोतसाधन जुटाउनु अहिलेको प्रमुख चुनौती बनेको छ । विशेषगरी पशुको सङ्ख्याअनुसार नियमित दाना, पराल र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न थप सहयोग आवश्यक देखिएको छ ।

यसैबीच, सामुदायिक पशु व्यवस्थापनको कामबाट प्रभावित भएर गौशालालाई स्वःस्फूर्त सहयोग गर्ने व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।

धनगढीमा गौशाला सञ्चालनले सडकमा छाडिएका पशुबाट हुने दुर्घटनाको जोखिम र किसानले भोग्दै आएको बालीनाली क्षतिको समस्या कम गर्न सहयोग पुर्‍याएको छ । तर, पशुहरूको दीर्घकालीन संरक्षणका लागि नियमित आहार, कर्मचारी व्यवस्थापन र आर्थिक स्रोतको दिगो व्यवस्था गर्नु अझै आवश्यक देखिएको छ ।