मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सबै राजनीतिक दललाई समेटेर सहमतिको सरकार गठन गर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल अघि बढाउने जानकारी दिनुभएको हो ।
मुख्यमन्त्री यादवले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको स्मरण गर्दै यसपटक पनि सबै राजनीतिक दलको विश्वास र समर्थन लिएर सरकार सञ्चालन गर्ने प्रयास गर्ने बताउनुभयो । मन्त्रिपरिषद् विस्तारको विषय पनि दलहरूसँगको छलफल र सहमतिपछि टुंगो लगाइने स्पष्ट पार्नुभयो ।
प्रदेश सरकारको कामले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले अब विकास निर्माण तथा प्रदेशका अन्य कामलाई तीव्रता दिने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अब समय थोरै छ । प्रदेशको काम पहिलाभन्दा केही सुस्त भएको छ । त्यसलाई गति दिएर अघि बढाउने र भ्रष्टाचार नियन्त्रण गर्दै सबै दललाई मिलाएर सहमतिको सरकार बनाउने हाम्रो प्रयास रहनेछ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया