प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

14 Shares

काठमाडौं । पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका फरार तथा प्रतिवादी गरी १२२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कात्तिक महिनामा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ वटा घटना दर्ता भएका छन्।

प्रहरीका अनुसार सोही अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दासँग सम्बन्धित ८५ जना पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने निर्णय भएको थियो।

कात्तिक महिनामा जिल्लामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैंकिङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन्। यसले जिल्लामा आर्थिक अपराध तथा अन्य आपराधिक गतिविधिसम्बन्धी उजुरीसमेत उल्लेख्य रहेको देखाएको छ।

यसैबीच, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक महिनाको अवधिमा १४ वटा मुद्दा दर्ता गरेको छ। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले उक्त अवधिमा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरेको छ। त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुलसमेत बरामद गरिएको प्रहरी विवरणमा उल्लेख छ।

लागुऔषध दुरुपयोग नियन्त्रण तथा न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। गत कात्तिक महिनामा ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई लागुऔषधको दुरुपयोगबाट हुने असर तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।

अपराध न्यूनीकरण तथा जिल्लामा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सुरक्षा निगरानी र गस्तीलाई थप प्रभावकारी बनाएको छ। जिल्लाका विभिन्न स्थानमा सीसीटीभी जडान, क्युआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जालको निगरानी र गोप्य सूचना सङ्कलनलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा घटनामा तत्काल प्रतिक्रिया दिन मोबाइल क्विक रेस्पोन्स टोली परिचालन गरिएको छ। सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका गतिविधि र घटनामा संलग्नताको आधारमा ३५ वटा प्रोफाइलसमेत तयार गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

प्रहरीका अनुसार प्रविधिको प्रयोग, नियमित गस्ती, सूचना सङ्कलन, सीमा निगरानी तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जिल्लामा अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने प्रयास भइरहेको छ।