प्रधानमन्त्री बालेन शाहको पहिलो औपचारिक भारत भ्रमण आजदेखि, मोदीसँग सोमबार उच्चस्तरीय वार्ता

46 Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि दुईदिने औपचारिक भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो ।

प्रधानमन्त्री शाह आज दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको दोस्रो दिन अर्थात् सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, व्यापार, ऊर्जा, पूर्वाधार विकास, पारवहन तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तथा ऊर्जा र पूर्वाधारसँग सम्बन्धित परियोजनामा सहकार्य अघि बढाउने तयारी छ । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल सहभागी हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित हुन लागेको यस भ्रमणलाई चासोका साथ हेरिएको छ ।