काठमाडौं। नेपाली प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको जीवन, संघर्ष र त्यागलाई समेटेर तयार पारिएको ऐतिहासिक नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटर, कालिकास्थानमा मञ्चन सुरु भएको छ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनाम थिएटरको प्रस्तुतिमा तयार भएको नाटकले राणाशासनविरुद्धको संघर्षदेखि प्रजातन्त्र स्थापनापछिको राजनीतिक त्यागसम्मका घटनालाई मञ्चमा उतारेको छ।
नेपाली जनतालाई १०३ वर्षसम्म रैती बनाएर शासन गरेको निरंकुश जहानियाँ राणाशासनविरुद्ध नागरिक अधिकार र प्रजातन्त्रका लागि संघर्ष गरेका गणेशमान सिंहको जीवनकथामा नाटक आधारित छ।
राणाशासनको अन्याय र अत्याचारविरुद्ध आवाज उठाएकै कारण सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएका सिंह भद्रगोल जेलको अग्लो पर्खाल नाघेर भाग्न सफल भएका थिए। उनको यो साहसिक घटनालाई नाटकमा विशेष रूपमा प्रस्तुत गरिएको छ।
मृत्युदण्डको सजायको समेत पर्वाह नगरी प्रजातन्त्र स्थापनाको अभियानमा लागेका सिंहले राणाशासकबाट अनेकौं यातना र कोर्रा सहनुपरेको थियो। तर, उनको अडिग निष्ठा, अदम्य साहस र संघर्षले उनलाई नेपाली जनतामाझ ‘वीर’ र ‘लौहपुरुष’का रूपमा स्थापित गरायो।
नाटकले व्यक्तिगत स्वार्थ, पद र पैसाभन्दा माथि उठेर देश र जनताका लागि जीवन समर्पण गर्ने उनको संघर्षलाई चित्रण गरेको छ।
नाटकको अर्को महत्त्वपूर्ण पक्ष २०४६ सालको जनआन्दोलनको सफलतापछिको घटनाक्रम हो। प्रजातन्त्र पुनः स्थापनापछि प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुँदा पनि सिंहले पद स्वीकार नगरी त्याग गरेको प्रसंगलाई नाटकको अन्त्यमा प्रस्तुत गरिएको छ।
सत्ताभन्दा निष्ठा र व्यक्तिगत महत्त्वाकांक्षाभन्दा देश तथा जनताको हित ठूलो हुन्छ भन्ने उनको राजनीतिक आदर्शलाई यसले उजागर गरेको छ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशनमा तयार भएको नाटकमा शीर्ष भूमिकामा अभयराज बरालले अभिनय गरेका छन्।
यसैगरी नाटकमा नुशा लिङ्देन, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभसिंह कार्की, निश्चल द इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईलगायत कलाकारको अभिनय रहेको छ।
यसअघि रसुवामा आएको विनाशकारी भोटेकोसी बाढीका कारण रोकिएको नाटक पुनः मञ्चनमा ल्याइएको हो। नाटक मंसिर ४ देखि १९ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया