चितवन । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यसहित चितवनको खैरहनीमा मेसिनबाट आलु रोप्ने कार्यलाई निरन्तरता दिइएको छ। गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधि यस वर्ष पनि प्रयोगमा ल्याइएको हो। परम्परागत रूपमा जनशक्ति परिचालन गरेर आलु रोप्नुपर्ने बाध्यता कम हुनुका साथै समय र लागत बचत हुने भएपछि किसानहरू यस प्रविधिप्रति आकर्षित हुन थालेका छन्।
खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत किसानहरूले मेसिन प्रयोग गरी आलु रोपिरहेका छन्। आलु रोप्ने मेसिन स्थानीयस्तरमा उपलब्ध नभएपछि बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर खेती गरिएको सहकारीले जनाएको छ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालका अनुसार गत वर्ष सहकारीमार्फत २०० बिघा क्षेत्रफलमा आलु खेती गरिएको थियो। यस वर्ष भने विभिन्न कारणले खेतीको क्षेत्रफल घटेर १०० बिघामा सीमित भएको छ। गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उनले यस प्रविधिले खेतीको काम सहज बनाउनुका साथै उत्पादन लागतसमेत घटाउन सहयोग पुगेको बताए।
हाल सहकारीमा ८४ जना किसान आबद्ध छन्। उनीहरूमार्फत यस वर्ष रोपिएको कुल १०० बिघा क्षेत्रफलमध्ये १२ बिघामा मेसिनको प्रयोग गरिएको अध्यक्ष अर्यालले जानकारी दिए। उनका अनुसार मेसिनले एकैपटक आलुको बीउ र मल रोप्ने भएकाले श्रम, समय र खर्चको बचत हुने गरेको छ।
परम्परागत विधिबाट आलु रोप्दा धेरै जनशक्ति आवश्यक पर्ने र समय पनि बढी लाग्ने गर्दछ। तर आधुनिक मेसिनको प्रयोगले एउटै प्रक्रियामा आलुको बीउ र मल रोप्न सकिने भएकाले खेतीको काम छिटो र व्यवस्थित हुने किसानहरूको अनुभव छ। कृषि क्षेत्रमा यस्ता प्रविधिको प्रयोग विस्तार गर्न सके उत्पादन लागत घटाउन र व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न सकिने अपेक्षा गरिएको छ।
खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको छ। उक्त क्षेत्रबाट वार्षिक एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ।
उनले खैरहनी क्षेत्रमा मेसिनबाट आलु रोप्ने प्रविधिको प्रयोग गर्दा राम्रो उत्पादन प्राप्त भएको बताइन्। उनका अनुसार उचित तरिकाले खेती व्यवस्थापन गर्न सके एक कठ्ठा जमिनबाट १२ क्विन्टलसम्म आलु उत्पादन हुने गरेको छ। आधुनिक कृषि उपकरणको प्रयोगले खेतीलाई थप व्यवस्थित बनाउन र किसानको उत्पादन क्षमता बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
खैरहनी क्षेत्रमा विभिन्न जातका आलु खेती हुँदै आएको छ। यहाँ एलआर गोलो, विदेशी जातको ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेका छन्। माटोको अवस्था, मौसम र बजारको मागअनुसार किसानहरूले विभिन्न जातका आलु लगाउने गरेका छन्।
चितवनको खैरहनी आलु खेतीका लागि सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित हुँदै गएको छ। यहाँका किसानले सहकारीमार्फत सामूहिक रूपमा खेती गर्ने र आधुनिक कृषि उपकरण प्रयोग गर्ने अभ्यासलाई विस्तार गर्दै लगेका छन्। यसले कृषि क्षेत्रमा यान्त्रीकरणको सम्भावना बढाउनुका साथै व्यावसायिक खेतीतर्फ किसानलाई प्रेरित गरेको छ।
कृषिमा श्रमिक अभाव, उत्पादन लागत वृद्धि र समयमै खेतीको काम सम्पन्न गर्नुपर्ने चुनौती बढिरहेका बेला मेसिनबाट आलु रोप्ने प्रविधि उपयोगी बन्न सक्ने देखिएको छ। यद्यपि, पर्याप्त मेसिन उपलब्धता, भाडा तथा सञ्चालन खर्च र किसानको पहुँच विस्तार गर्न सके मात्रै यसको प्रभावकारी उपयोग बढाउन सकिनेछ।
स्थानीय तह, सहकारी र किसानबीच सहकार्य गरी आधुनिक कृषि उपकरणको उपलब्धता बढाउन सके खैरहनीमा मात्रै नभई अन्य कृषि क्षेत्रमासमेत यान्त्रीकरणको प्रयोग विस्तार गर्न सकिने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया