राजनीतिक दूरी भुलेर मुकुल–निशाको बिहेमा आउने भए रवि, बुढानीलकण्ठ पुगेर दिए निम्तो

70 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालबीच लामो समयपछि भेटघाट भएको छ । व्यक्तिगत तथा राजनीतिक सम्बन्धमा दूरी बढिरहेका बेला ढकाल र रास्वपाकी सहमहामन्त्री निशा डाँगी विवाहको निमन्त्रणा लिएर लामिछानेको निवास पुगेका हुन् ।

मंगलबार साँझ बूढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका उनीहरूले रवि र उनकी पत्नी निकिता पौडेललाई विवाहको निमन्त्रणा दिएका थिए । निमन्त्रणा स्वीकार गर्दै लामिछानेले विवाह समारोहमा सहभागी भएर शुभकामना तथा आशीर्वाद दिने बताएका छन् ।

पार्टीबाट निष्कासनमा परेपछि पहिलोपटक लामिछानेको निवास पुगेका मुकुलका लागि यो भेट व्यक्तिगत सम्बन्धका हिसाबले पनि अर्थपूर्ण बनेको छ । भेटका क्रममा राजनीतिक विवादभन्दा पारिवारिक विषयमा कुराकानी भएको ढकालले बताएका छन् ।

उनले पूर्वउपसभापति तथा सभामुख डोलप्रसाद अर्याललाई पनि निवासमै पुगेर विवाहको निम्तो दिएका छन् । अर्यालले पनि निमन्त्रणा स्वीकार गर्दै समारोहमा सहभागी हुने बताएका छन् ।