बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालको पुनरावेदन

24 Shares

काठमाडौं । बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएको स्रोतले जनाएको छ । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहेको छ ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णयलाई नै सदर गरेमा दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । हालको कानुनी प्रक्रियाअनुसार सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतको भनाइ छ ।

सरकारले संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा गत असोज २३ गते दाहाललाई बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग सम्बन्ध देखिएको र प्रधानमन्त्रीसँग सम्बन्धित सूचना चुहाएको आरोप उनीमाथि लागेको थियो ।

इनम पक्राउ परेपछि उनको मोबाइलबाट एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमसँगको सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो ।