यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेल पक्राउ

17 Shares

काठमाडौं । मलेसिया जाने कामदारबाट रकम ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धानका क्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत रहँदा भएको अनियमिततामा संलग्न रहेको आरोपमा पोखरेललाई बुधबार पक्राउ गरेको हो ।

यस प्रकरणमा तत्कालीन दुई श्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार मलेसिया जाने कामदारबाट अवैध रूपमा रकम संकलन गरी ठगी गर्नुका साथै विदेशी मुद्रा अपचलनमा समेत उनीहरूले सहयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

यसअघि पनि उक्त प्रकरणमा संलग्न रहेको आरोपमा व्यवसायी कैलाश खड्कालगायत व्यक्ति पक्राउ परिसकेका छन् ।