तराईका विभिन्न स्थानमा हुस्सु र तुवाँलो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

82 Shares


पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागको मौसममा बदली भएको छ । तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो देखिएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । विभागले कोशी र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रमा मौसम बदली भए पनि देशभर ठूलो मौसमी प्रणालीको प्रभाव देखिएको छैन । आज राति पनि कोशी, मधेश र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

अन्य स्थानमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । काठमाडौंमा अधिकतम तापक्रम २२ देखि २४ डिग्री र न्यूनतम ८ देखि १० डिग्री सेल्सियस रहनेछ ।

त्यस्तै जनकपुर र भैरहवामा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । जुम्लामा भने न्यूनतम तापक्रम माइनस ४ देखि माइनस २ डिग्री सेल्सियससम्म झर्न सक्ने देखिएको छ ।