त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छली गरी सुन ल्याउने प्रयास गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरीले उनको साथबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ बरामद गरेको हो ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय नागरिक रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनी हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौं आएका थिए । विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि सुरक्षाकर्मीले थप अनुसन्धान तथा खानतलासी गरेका थिए।
सोही क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा दुई थान पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल ६३५.९६ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो।
भ न्सार प्रक्रिया छल्दै अवैध रूपमा उक्त पदार्थ ल्याउन खोजेको आशंकामा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद पदार्थको प्रकृति तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया