इलामको टोड्के गाउँ टमाटरखेतीको पकेट क्षेत्र बन्दै, वार्षिक एक करोड २० लाखभन्दा बढीको कारोबार

31 Shares

काठमाडौं । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ। गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन्। स्थानीय किसानले उत्पादन गरेको टमाटर बिक्रीबाट गाउँमा वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।

अन्य अन्नबालीको तुलनामा टमाटरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन्। पछिल्लो समय किसानले खेती विस्तार गर्दै उत्पादन बढाउन थालेका छन्। टमाटरखेतीबाट प्राप्त आम्दानीले धेरै परिवारको घरखर्च तथा छोराछोरीको पढाइ खर्च धान्न सहयोग पुगेको छ।

टोड्केका अगुवा किसान प्रदीप राई विगत १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन्। निरन्तरको मेहनत र अनुभवका कारण उनी गाउँका सफल टमाटर किसानका रूपमा परिचित छन्।

गत वर्ष उनले चार हजार ५०० बोट टमाटर लगाएका थिए। त्यसबाट उत्पादित टमाटर बिक्री गरेर उनले तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए। उत्पादन सुरु भएको समयमा प्रतिकेजी ५० रुपैयाँमा बिक्री भएको टमाटर सिजनको अन्त्यतिर ९० रुपैयाँसम्म पुगेको थियो।

यस वर्ष उनले खेती विस्तार गर्दै १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाएका छन्। अहिले अगुवा बोटमा टमाटर उत्पादन सुरु भइसकेको छ। यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उनको अनुमान छ।

हाल टमाटर प्रतिकेजी ५० रुपैयाँका दरले बिक्री भइरहेको छ। गत वर्षकै हाराहारीमा बजार मूल्य कायम रहे यस वर्ष सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा उनले गरेका छन्।

त्यस्तै, स्थानीय किसान मनिषा राई पनि व्यावसायिक टमाटरखेतीबाट राम्रो आम्दानी गर्दै आएकी छन्। टमाटरखेतीकै आम्दानीबाट घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी उनले गत वर्ष चार लाख रुपैयाँ आम्दानी गरेकी थिइन्। यस वर्ष उनले तीन हजार बोट टमाटर लगाएकी छन्।

पूर्वकार्यपालिका सदस्यसमेत रहेकी मनिषाका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट प्राप्त आम्दानीमा निर्भर छ। खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका धेरै परिवार व्यावसायिक उत्पादनमा जोडिएका छन्।

किसान विनोद राईले पनि यस वर्ष पाँच हजार बोट टमाटर लगाएका छन्। यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आएका उनले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि उत्पादन विस्तार गरेका हुन्। बजारमा उचित मूल्य पाए यस वर्ष आम्दानी थप बढ्ने उनको अपेक्षा छ।

टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले जानकारी दिए। उनका अनुसार गाउँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ। टोड्केलाई व्यवस्थित रूपमा टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए।

स्थानीय किसानले वर्षमा करिब छ महिना टमाटरखेती गर्ने गरेका छन्। बाँकी समयमा भने मकैखेती गर्ने चलन छ। फरकफरक समयमा फरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने किसानको भनाइ छ।

टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुस महिनासम्म हुने गर्दछ। रोपेको करिब ७० दिनपछि फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ। उचित स्याहार र व्यवस्थापन गर्न सके उत्पादन अझ बढाउन सकिने उनीहरू बताउँछन्।

टोड्केमा उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म पुग्ने गरेको छ। बजारको मागअनुसार व्यापारीले किसानको बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेका छन्।

स्थानीय किसान मनुकुमार राईका अनुसार निर्माणाधीन बीपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज हुँदै गएको छ। यसले गाउँमा उत्पादन भएको टमाटर बजारसम्म पुर्‍याउन सजिलो बनाएको छ। व्यापारी बगानमै आएर टमाटर खरिद गर्ने भएकाले उत्पादन बिक्री नहुने समस्या पनि कम रहेको उनको भनाइ छ।

व्यावसायिक खेती, बजारको पहुँच र किसानको बढ्दो आकर्षणका कारण टोड्के गाउँ कृषि उत्पादनको उदाहरणीय क्षेत्रका रूपमा अघि बढिरहेको छ। स्थानीयस्तरमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्दै आएको टमाटरखेतीलाई थप व्यवस्थित बनाउन सके गाउँको आर्थिक अवस्था अझ बलियो बन्ने अपेक्षा गरिएको छ।