रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

25 Shares

काठमाडौं । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई भारतीय किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। सोमबार साँझ राजदेवी नगरपालिका–१ मोतिपुरस्थित सडकमा स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा भारतको सीतामढी जिल्ला भकुरहरका १६ वर्षीय प्रिन्स पासवान र जमुवा टोलका १८ वर्षीय अनिकेत पासवानको मृत्यु भएको हो।

दुर्घटनामा भारतको सीतामढी जिल्ला भकुरहरका १७ वर्षीय सुनिल पासवान र रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान घाइते भएका छन्।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको थियो। स्कुटरमा चार जना सवार थिए। प्रारम्भिक विवरणअनुसार क्षमताभन्दा बढी यात्रु बोकेको स्कुटर अनियन्त्रित भएर सडकमा रहेको पुलमा ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका दुवै जनाको टाउको, हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर र वीरगञ्ज पठाइएको छ।

घटनापछि प्रहरी टोलीले दुर्घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एकै स्कुटरमा चार जना सवार हुँदा भएको यस दुर्घटनाले सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्दा हुन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ। सवारी चलाउँदा क्षमता, गति र सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्ने आवश्यकता देखिएको छ।