काठमाडौं । मनसुनजन्य विपद्का कारण म्याग्दी जिल्लाका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण तथा निर्माण कार्य प्रभावित बनेको छ। कालीगण्डकी र म्याग्दी नदीसहित विभिन्न सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो।
बाढीपहिरोका कारण केही जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केही आयोजनाको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ। निर्माणाधीन आयोजनामा आवश्यक निर्माण सामग्री तथा उपकरण ढुवानी गर्न समस्या भएपछि निर्माणको गति सुस्त भएको छ। यसले आयोजना निर्धारित समयमा सम्पन्न नहुने र निर्माण लागतसमेत बढ्ने जोखिम सिर्जना गरेको छ।
कालीगण्डकी नदीको कटानका कारण २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावरमा ठूलो क्षति पुगेको छ। अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुईवटा र रातोपानीमा एउटा टावर बगाएको छ। धिरच्याङस्थित टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावरसमेत जोखिममा परेको छ।
प्रसारण लाइनमा क्षति पुगेपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो। नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको हो।
क्षतिग्रस्त टावर तथा प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ।
यसैबीच, बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन्। रेलेखर्क क्षेत्रबाट आएको बाढीले आयोजनाको बाँधमा गेग्रान थुपारेपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले जानकारी दिएका छन्।
त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह गत साउन २६ गते गएको सुक्खा पहिरोले पुरिएको थियो। त्यसपछि असोजमा आएको बाढीपहिरोले आयोजनाको बाँधमा थप क्षति पुर्याएको छ। विद्युत्गृह पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।
म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीका अनुसार आयोजनाको पुनर्निर्माणको तयारी भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार घारखोला आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
त्यसैगरी, कालीगण्डकी बेसीनमा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ। १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य डेढ महिनादेखि प्रभावित हुँदै आएको छ।
कालीगण्डकी गर्ज आयोजनाको मुस्ताङस्थित घाँसाको थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले ठूलो मात्रामा गेग्रान थुपारेपछि निर्माण कार्य रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताएका छन्।
मध्यकालीगण्डकी आयोजनामा पनि बाढीले व्यापक क्षति पुर्याएको छ। आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास भवन, मेसिनरी, उपकरण, निर्माण सामग्री तथा डिजेल ट्याङ्करमा क्षति पुगेको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन्।
बाढीले निर्माणस्थलमा बनाइएको डाइभर्सनसमेत भत्काएको छ। नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्गमा पनि क्षति पुगेको छ। यसले आयोजनाको निर्माण कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि पनि लम्बिएको छ। नदी कटानका कारण टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुगेको थियो भने विद्युत्गृहभित्र पानी पसेर डुबानसमेत भएको थियो।
आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार हाल २०/२० मेगावाट क्षमताका दुईवटा युनिट आलोपालो सञ्चालन गरेर परीक्षण उत्पादन भइरहेको छ। विपद्का कारण आयोजनाको परीक्षण प्रक्रिया प्रभावित भए पनि विद्युत् उत्पादनको कामलाई निरन्तरता दिने प्रयास भइरहेको छ।
म्याग्दीखोला बेसीनमा निर्माणाधीन जलविद्युत् आयोजनामा पनि पहुँचमार्ग र निर्माण सामग्री ढुवानीको समस्या देखिएको छ। घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलामा आएको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानीमा अवरोध सिर्जना गरेको अपर म्याग्दीखोला–१ आयोजनाका प्रमुख ज्योतिकुमार केसीले बताएका छन्।
करिब ६० प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको माथिल्लो म्याग्दी आयोजनाको निर्माण कार्यसमेत प्रभावित भएको छ। त्यस्तै, दरखोलालगायतका जलविद्युत् आयोजनासम्म पुग्ने सडकका विभिन्न स्थानमा पहिरो खसेपछि निर्माण सामग्री ढुवानी गर्न कठिनाइ भएको छ।
यद्यपि, म्याग्दीको राहुघाट करिडोरअन्तर्गतका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन भने नियमित रहेको जनाइएको छ।
यस वर्षको बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र कामदारका आवाससमेत जोखिममा रहेको देखाएको छ। विशेषगरी नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका संरचनामा विपद्का बेला ठूलो क्षति पुग्न सक्ने अवस्था देखिएको छ।
नेपालमा जलविद्युत् क्षेत्रमा लगानी बढ्दै गइरहेको अवस्थामा यस्ता विपद्बाट आयोजनाको सुरक्षा गर्नु चुनौतीपूर्ण बन्दै गएको छ। जलविद्युत् आयोजनालाई सुरक्षित र दिगो बनाउन नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध निर्माण, वैकल्पिक पहुँचमार्गको व्यवस्था, प्रसारण टावरको संरक्षण तथा प्रभावकारी विपद् पूर्वतयारी आवश्यक देखिएको छ।
बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणसँगै भविष्यमा यस्ता जोखिम कम गर्ने उपायलाई पनि आयोजना निर्माण र सञ्चालनको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया