काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।
पहिलो क्वालिफायरको विजेता टोलीले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। विजेता टोलीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाउँदा पराजित हुने टोलीले भने फाइनल पुग्ने अर्को अवसरका लागि दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।
लिग चरणमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर प्लेअफमा प्रवेश गरेका हुन्। लुम्बिनी लायन्सले लिग चरणका खेलमा पाँच जित र एक हार बेहोर्दै कुल ११ अंक जोडेको थियो। त्यस्तै, सुदूरपश्चिम रोयल्सले पाँच जित र दुई हारसहित १० अंक प्राप्त गरेको थियो।
लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनीले सुदूरपश्चिमभन्दा एक अंक बढी जोड्दै आफूलाई बलियो अवस्थामा राखेको छ। तर क्वालिफायरको खेलमा लिग चरणको अंकभन्दा मैदानमा हुने प्रदर्शन निर्णायक बन्ने भएकाले दुवै टोली जितका लागि रणनीतिसहित मैदान उत्रने तयारीमा छन्।
यस संस्करणको लिग चरणमा पनि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। त्यसैले आजको खेलमा पनि लुम्बिनी सोही नतिजालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
लुम्बिनी र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा यसअघि पनि निकै रोचक रहँदै आएको छ। गत संस्करणको एनपीएल फाइनलमा यी दुई टोली आमनेसामने भएका थिए। उक्त फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको थियो।
यसपटक पनि पहिलो क्वालिफायरमा भेट भएपछि लुम्बिनी लगातार तेस्रो पटक सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। लिग चरण र अघिल्लो संस्करणको फाइनलमा प्राप्त जितलाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लुम्बिनीको प्रयास रहनेछ।
अर्कोतर्फ, सुदूरपश्चिम रोयल्स भने अघिल्ला दुई पराजयको बदला लिँदै पहिलो क्वालिफायर जितेर फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ। लिग चरणमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिमका लागि आजको खेलमा जित निकाल्नु उपाधि यात्रालाई थप बलियो बनाउने अवसर हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया